इलाम,१ साउन । इलामको सूर्योदय नगरपालिकामा गएराति ससुराली गएका एक युवकको हत्या गरिएको छ भने उनका दाजु गम्भीर घाइते भएका छन्।
सूर्योदय नगरपालिका–१ शिरिसेमा बुधबार राति भएको घटनामा इलाम माइजोगमाई गाउँपालिका–२ का २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरीका अनुसार प्रकाश आफ्ना ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली गएका थिए। उनीहरू स्थानीय काजी तामाङको घरमा रहेका बेला विवाद उत्पन्न भएको र सोही क्रममा ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रहार गरेका थिए।
हतियारको प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा उनका दाजु निरोजको पेटमा गम्भीर चोट लागेको र उनलाई तत्काल उपचारका लागि फिक्कल पठाइएको छ।
घटनापछि भाग्न खोजेका आरोपी किरण शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारणबारे विस्तृत विवरण दिन बाँकी रहेको जनाएको छ भने स्थानीयहरूबीचको भनाभनबाट विवाद चर्किएको प्रारम्भिक अनुमान गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस