दाङ, १साउन । पश्चिम दाङको दङ्गीशरणमा ट्याक्टर दुर्घटना हुँदा एक प्रहरी जवानसहित दुईजना घाइते भएका छन्। दंगीशरण गाउँपालिका–१ बाँकीमा बिहीबार भएको दुर्घटनामा परेर उनीहरू घाइते भएका हुन्।
आज दिउँसो पौने ३ बजेतिर बाँकीबाट रहरपुरतर्फ जाँदै गरेको रा १ त ४९९८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर दंगीशरण–१, रहरपुर निवासी २५ वर्षीय सिभन चौधरी र १८ वर्षीय छितिज चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएकामध्ये सिभन चौधरी प्रहरी चौकी हिबुवा काभ्रेमा दरबन्दी भई हाल काभ्रेको रोसीमा कार्यरत प्रहरी जवान हुन्। उनको बाँया खुट्टामा चोट लागेको छ भने छितिज चौधरीको दायाँ खुट्टा र मुखमा चोट लागेको जनाइएको छ।
घाइते दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
घटना लगत्तै प्रहरी चौकी गोल्टाकुरीबाट प्रहरी निरीक्षक कन्हैलाल चौधरीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। ट्याक्टर चालक ३१ वर्षीय रामबहादुर चौधरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको विस्तृत विवरण संकलनका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस