दाङ, १ साउन।दाङमा राँगा खरिद गर्ने निहुँमा किसानलाई ठग्दै हिँड्ने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति गढवा गाउँपालिका–४ पर्साका ४४ वर्षीय मोहम्मद जमिल मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सेनाले जानकारी दिए।
प्रहरीका अनुसार मुसलमानले विभिन्न गाउँबाट दर्जनौं राँगा भैँसी उधारोमा लिएर पैसा नतिरी फरार हुँदै आएका थिए। दंगीशरण गाउँपालिका–४ का तेजमान चौधरीसहित तीन जनाको २ लाख ८० हजार रुपैयाँ बराबरका ६ वटा राँगा २०८० माघ २३ गते उधारोमा लिएर मुसलमान फरार भएपछि पीडितले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दिएका थिए।
२०८१ मंसिर २१ गते मुसलमानविरुद्ध ठगीको आरोपमा जिल्ला प्रशासनमा निवेदन दर्ता भएपछि प्रहरीले दुई महिना लगाएर अनुसन्धान गर्दै बुधबार पक्राउ गरेको हो।
प्रहरीले जनाएअनुसार मुसलमानले चलनचल्तिको मूल्यभन्दा २/३ हजार रुपैयाँ बढी दिने भन्दै विश्वास जित्ने तर पछि पैसा नदिई फरार हुने गरेका थिए।
“दाङका धेरै ठाउँमा राँगा–भैँसी लिएर ठगी गरेको भन्ने उजुरीहरू प्राप्त भइरहेका छन्। पीडितहरूलाई प्रहरी कार्यालयमा निवेदन दिन अनुरोध गर्दछौं,” प्रहरी उपरीक्षक तिमिल्सेनाले भने ।
मुसलमानले विगत केही वर्षदेखि दाङका ग्रामीण बस्तीमा पुगेर किसानलाई झुक्याई राँगा भैँसी लाने, पैसा नतिरी बेपत्ता हुने गरेको प्रहरीले जनाएको छ। यतिबेला प्रहरी थप अनुसन्धानमा जुटेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस