काठमाडौं, १ साउन। लागुऔषध नियन्त्रण ब्युरोले एक महिलालाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ।
मोरङको बेलबारी–३ स्थायी घर भई हाल काठमाडौंको बालाजुमा बस्दै आएकी ३२ वर्षीया निकु राई लागुऔषध ट्रामाडोल र गाँजासहित पक्राउ परेकी हुन्। ब्युरोका अनुसार उनले भाडामा लिएको कोठाबाट ३५ हजार ५९० क्याप्सुल ट्रामाडोल र १२ किलो ५०० ग्राम गाँजा बरामद गरिएको हो।
ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार निकुको कोठामा लागुऔषध राखिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। कोठा खानतलासी गर्दा प्रहरीले चार वटा नयाँ प्रकारका सुट्केस फेला पारेको थियो।
“ती महिलाले नयाँ सुट्केसहरू ओसारपसारका लागि राखेकी रहिछन्,” एसएसपी कोइरालाले बताए, “नयाँ सुट्केस खासै जाँच नहुने हिसाबले राखिएको हुनसक्छ, यथार्थ अनुसन्धानपछि खुल्नेछ।”
अनुसन्धानबाट थाहा हुन आएअनुसार निकुले लागुऔषध भण्डारणका लागि छुट्टै डेरा लिएकी थिइन्। उनी भने अर्कै डेरामा बस्दै आएकी थिइन्। प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ।
यस्तै ब्युरोले असार १३ गते बल्खु क्षेत्रबाट दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको थियो। कुंगा तामाङ र पदमबहादुर महतेको कोठाबाट बुप्रेनोर्फिन, डाइजेपाम र फेनार्गन गरी कुल ३१ हजार १०१ एम्पुल लागुऔषध बरामद गरिएको थियो।
प्रहरीले उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कानुनी प्रक्रिया अघि बढाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस