काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटनामा परेर दैनिक औसतमा ७ जनाको मृत्यु हुने गरेको बताएका छन् । बिभिन्न कारणले हुने दुर्घटनामा दैनिक ७ जनाको मृत्यु हुने गरेको अबस्था रहेको छ ।
सवारी साधन चलाउँदा पूर्वसावधानी नअपनाउने, लाइसेन्सबिना सवारी चलाउने लगायतका कार्यले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या दैनिक ७ जना पुगेको बताएका हुन् ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा मन्त्री लेखकले उक्त जानकारी दिएका हुन् । सवारी दुर्घटना, लागुऔषध, आत्महत्या सुरक्षा चुनौतीको रूपमा देखा परेको उनको भनाइ थियो । ‘सवारी दुर्घटना एउटा चुनौतीको रुपमा देखा परेको छ । आजका दिनमा औसतमा प्रतिदिन सात जना व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु भइराखेको छ,’ गृहमन्त्री लेखकले भने, ‘यसको नियन्त्रण अर्को एउटा महत्वपूर्ण चुनौती भएको छ ।
नेपाल प्रहरीका प्रमुख दीपक थापाले सवारी दुर्घटनाबाट आर्थिक वर्ष २०८१/०८२ मा दुई हजार ५ सय ४९ जनाको मृत्यु भएको जानकारी दिए । त्यसरी सवारी दुर्घटनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशका रहेको उनले जानकारी दिए । सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउने, लागुऔषध प्रयोग गरेर सवारी चलाउने, सवारी चलाउँदा पूर्वसचेतना नअपनाउने, हेलमेट नलगाइ सवारी चलाउने गर्दा दुर्घटना बढेको थापाले जानकारी दिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस