after_navbar

हुम्लामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, १४ घाइतेमध्ये ४ जना नेपालगञ्ज रिफर


श्रावण ०४, २०८२


हुम्ला ,३ साउन ।हुम्लाको सिमकोट गाउँपालिका–१ बैजीबाडा नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटनामा खार्पुनाथ गाउँपालिका–३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घाइतेमध्ये चार जनालाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको छ।

सिमकोट गाउँपालिका–२ का कुम्मेर भण्डारी, खार्पुनाथ–३ का हर्क रावल, खार्पुनाथ–२ की पानकला छत्याल र ट्याक्टर चालक डोनबहादुर पुनमगरलाई गम्भीर चोट लागेकाले नेपालगञ्ज पठाइएको हो।

जिल्ला अस्पतालका अनुसार कसैको हात, खुट्टा भाँचिएको छ भने केहीको पेट, टाउको लगायत शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ। अन्य १० जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार चुवाखोला वनबाट पोड्या संकलन गरी फर्किंदै गरेका स्थानीय दोजामबाट बालुवा लोड गरिएको क०२००१त ०३५३ नम्बरको ट्याक्टर चढेर सिमकोटतर्फ आइरहेका थिए। सोही क्रममा ट्याक्टर दुर्घटनामा परेको हो।

घाइतेहरूको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="