रोल्पा,४ साउन । रोल्पामा पहिरोले घर पुरिँदा एक वृद्धको ज्यान गएको छ। लगातारको वर्षापछि आइतबार बिहान थबाङ गाउँपालिका–४, उवा थापाखर्कमा आएको पहिरोले स्थानीय ७२ वर्षीय गोठे घर्तीमगरको घर पुरिँदा उनी भान्सामा बसिरहेको अवस्थामा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार भान्साघरमै रहेका घर्तीमगरलाई पहिरोले पुरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
हाल घटनास्थलमा प्रहरी हवल्दारको नेतृत्वमा पाँच सदस्यीय टोली उद्धारमा खटिएको छ ।
घर्तीमगरको अन्य परिवार भने अर्को गोठमा रहेका कारण सुरक्षित रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस