दाङ, ५ साउन । दाङमा आफ्नै छोरीमाथि करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
दाङको घोराही उपमहानगरपालिका–५ निवासी ३६ वर्षीय एक पुरुषलाई आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले पीडित बालिकाको संवेदनशीलतालाई ध्यानमा राख्दै आरोपीको नाम गोप्य राखेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार आरोपीले १८ वर्षीया छोरीलाई गत असार ३० गते राति घरमै जबरजस्ती करणी गरेको आरोप लागेको हो।
बालिकाकी आमाले हाडनाता करणीसम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीले शनिबार साँझ उनलाई घरबाटै पक्राउ गरेको हो।
प्रहरीले दिएको जानकारी अनुसार पीडित बालिकाकी आमा रोजगारीको सिलसिलामा नाबालक छोरासहित भारतमा रहँदै आएकी थिइन्। आमा कमाउन भारत गएपछि घरमा बालिका र उनका बुबा मात्रै बस्दै आएका थिए।
पक्राउ परेका आरोपीलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस