after_navbar

परपुरुषसँग मिलेर श्रीमानको हत्या


श्रावण ०७, २०८२


कञ्चनपुर, ६साउन ६ । कञ्चनपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय रामरेसर रानाको हत्या आफ्नै श्रीमतीले परपुरुषसँग मिलेर गरेको खुलासा भएको छ।

गत वैशाख १७ गते मोटरघाट सडकछेउमा मृत अवस्थामा फेला परेका रामरेसरको हत्याको रहस्य प्रहरीले छानबिनपछि सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनामा संलग्न आरोपमा उनकी श्रीमती माया चौधरी, बेलौरी नगरपालिका–४ का पुन्ना राना र मानमती चौधरीलाई पक्राउ गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार वैशाख १६ गते पुन्ना राना बेलौरीबाट मानमतीको घर हुँदै मायाको घरमा पुगेका थिए। सोही दिन मायाले रामरेसर घरमा नरहेको जानकारी दिएकी थिइन्। तर, केहीबेरमै रामरेसर घर फर्किएपछि घरमै विवाद सुरु भएको थियो।

विवादका क्रममा माया, पुन्ना र मानमतीले मिलेर बाँसको चिर्पटले रामरेसरको टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हत्या गरेपछि तीनै जनाले शवलाई रातारात सडकछेउमा फालेर फरार भएका थिए।

घटनापछि मृतकका आफन्तले तीनै जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्या स्वीकार गरेका हुन्।

अनुसन्धानपछि जिल्ला अदालतको आदेशमा तीनै जनालाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="