कास्की ,६ साउन। पोखरामा नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको घटनामा झन्डै १० महिनापछि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति नुवाकोट घर भई हाल पोखरामा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने हुन्। उनी आइतबार अर्कै सन्तानकी सुत्केरी श्रीमतीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका बेला पक्राउ परेका हुन्।
घटना गत वर्ष असोज १३ गते पोखरा महानगरपालिका–१४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा भएको थियो। एक जेब्रा झोलाभित्र रातो–गुलाबी ब्लाङ्केटले बेरिएको नवजात शिशुको शव फेला परेको थियो।
पोस्टमार्टम रिपोर्टअनुसार शिशुको मृत्यु टाउको र घाँटीमा लागेको गम्भीर चोटका कारण भएको पुष्टि भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा शिशुका बाबु गोविन्द लामिछानेको संलग्नता पुष्टि भए पनि उनी त्यसयता फरार थिए। घटनाको १० महिनापछि अस्पताल आएको सूचनाका आधारमा प्रहरीले उनलाई समातेको हो।
पक्राउपछि जिल्ला अदालत, कास्कीबाट उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ।
घटनामा अन्य कसैको संलग्नता र हत्याको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस