after_navbar

सुकौराकोट दरबार : संरक्षण र सम्भावनाको बहस


श्रावण ०७, २०८२


दाङ,६ साउन। दाङको ऐतिहासिक स्थल सुकौराकोट दरबारको संरक्षण, सम्भाव्यता र संरचना विकासका विषयमा छलफल भएको छ।

थारु अगुवा, जनप्रतिनिधि, संस्कृत विद , योजना विज्ञ लगायतका सरोकारवालाहरूको उपस्थितिमा समष्टिगत छलफल भएको हो।

तुलसीपुर उद्योग वाणिज्य संघ र थारु कल्याणकारीणी सभा क्षेत्र नं. ३ दाङको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा इतिहास, संस्कृति, पर्यटन र प्रशासनका पक्ष समेट्दै दिगो रणनीति बनाउनु आवश्यक रहेको सहभागीहरूले औल्याएका छन्।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सुकौराकोट दरबार थारु समुदायको इतिहास, पहिचान र गौरवसँग जोडिएको भन्दै यसलाई राजनीतिक पहुँचभन्दा बाहिर राखी समन्वित ढंगले संरक्षण गर्नुपर्ने बताए। उनका अनुसार, चालु आर्थिक वर्षमा केन्द्र र प्रदेश सरकारबाट गरी तीन करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ।

सुकौराकोट केवल भौतिक संरचना पुनर्निर्माणको विषय होइन; यसले समुदायको सांस्कृतिक निरन्तरता, पर्यटकीय सम्भाव्यता र स्थानीय शिक्षा प्रणालीमा समेत प्रभाव पार्ने उनको भनाई रहेको थियो।

थारु संस्कृतिविद् अशोक थारुले सुकौराकोटको संरक्षणसँगै पुरातात्त्विक अनुसन्धान, प्रमाण संकलन र अध्ययन अनिवार्य भएको औल्याए। उनले संरचना बनाउनुभन्दा पहिले तथ्य संकलन र वातावरण व्यवस्थापनको खाँचो रहेको बताए।

लुम्बिनी योजना आयोगका पूर्व उपाध्यक्ष नहकुल केसी ,योजना आयोगका सदस्य र सरोकारवालाहरूले दीर्घकालीन संरचना विकासका लागि स्पष्ट कार्यविधि, भोगाधिकारको समस्या समाधान र स्थानीय तहसँगको समन्वय अपरिहार्य रहेको उल्लेख गरेका थिए।

उनीहरूलेकार्यक्रममा बजेटको कार्यान्वयन, जिम्मेवारीको स्पष्टता र संस्थागत समन्वय नहुनु मुख्य चुनौती रहेको बताएका थिए

दंगिशरण गाउँपालिका वडा नं ३ का अध्यक्ष सुकलाल चौधरीले अघिल्लो वर्ष विनियोजित ६ करोड रुपैयाँको उपयोगबारे प्रश्न उठाउँदै पारदर्शिताको माग गरे।
दङ्गेश्वर गाउँपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरीले आपसी असमझदारीका कारण योजना अघि नबढेको स्वीकार गरे।

तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष मानबहादुर रावतले संरचना बनाउन स्थानीय सरकार तत्पर भए पनि भोगाधिकार अभावको समस्या जटिल बन्दै गएको बताए।

थारु कल्याणकारी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरी, इतिहासविद् जर्मन चौधरी, रोहित थारुलगायत वक्ताहरूले सुकौराकोटको संरक्षणले थारु समुदायको सांस्कृतिक पुनर्जागरण मात्र होइन, दाङ जिल्लाको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

यसै क्रममा, सुकौराकोट दरबार संरक्षण तथा विकास समिति गठन गरिएको छ। वडा अध्यक्ष रावतको संरक्षकत्वमा गठित समितिको अध्यक्ष जनकुलाल चौधरी रहेका छन्। अन्य सदस्यमा थारु समुदायका सक्रिय प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधि समावेश गरिएको छ।

कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनील केसीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="