काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना पूर्व तथा वर्तमान पदाधिकारीहरूविरुद्ध मानव तस्करीको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा उजुरी परेको छ।
सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उजुरी पठाउँदै प्रधानमन्त्री ओलीसहित उच्च पदस्थ नेताहरूले पदको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न रहेको दाबी गरेका हुन्। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न माग गरेका छन्।
पौडेलले उजुरीमा प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाण, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र पूर्वश्रममन्त्री डोलप्रसाद अर्याललाई पनि अनुसन्धानको दायरामा ल्याउन आग्रह गरेका छन्।
यसअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्रधानमन्त्री ओलीसहितका नेताहरूविरुद्ध यस्तै उजुरी दर्ता गराएका थिए।
तर, जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले उजुरी प्राप्त भए पनि यो विषय प्रहरीको आधिकारिक दर्ता प्रक्रियामा नपर्ने जनाएका छन्। उनका अनुसार उजुरीको प्रकृति अध्ययन गरेर मात्र अगाडि बढ्ने वा नबढ्ने विषय टुंगो लाग्नेछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस