after_navbar

आज साउन १५ “खीर” खाएर मनाइँदै


श्रावण १६, २०८२


काठमाडौँ,१५ साउन । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर यो दिन विशेष रूपमा मनाइँदैछ। वर्षा ऋतुमा असार १५ गते दही–च्यूरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा प्राचीनकालदेखि चलिआएको हो।

ad

साउने झरीमा दूध, मरमसला र अन्य सामग्री मिसाएर पकाइने खीर स्वास्थ्यका लागि लाभदायक हुने विश्वासका आधारमा यो परम्परा बस्दै आएको जानकारहरू बताउँछन्। संस्कृतमा ‘पायस’ भनिने खीरलाई सात्विक आहारमध्ये एक उत्तम भोजन मानिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार वैदिक ग्रन्थहरूमा पितृ तथा देवकार्यमा खीरलाई महत्वपूर्ण वस्तुका रूपमा उल्लेख गरिएको छ।

उनका अनुसार साउन महिनामा गाउँघरमा खेतीपातीको काम समापनतिर पुग्ने, हरियाली प्रशस्त हुने, घाँस प्रशस्त पाइने र त्यसअनुसार गाई–भैंसीले धेरै दूध दिने भएकाले खीर पकाएर आफन्तजनलाई खुवाउने चलन बसेको हो। “स्वास्थ्यका हिसाबले पनि खीर उत्तम मानिन्छ,” गौतम भन्छन्।

साउन महिनालाई भगवान् शिवको महिना मानिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय हुने भएकाले खीर लगायतका मिठाईहरू विधिपूर्वक चढाइने चलन रहिआएको छ। यस कारण पनि साउन १५ मा खीर खाने परम्परा चलेको हुनसक्ने गौतमको भनाइ छ। यद्यपि, यसको कुनै स्पष्ट शास्त्रीय वचन नभएको उनले बताएका छन्।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा खीर अर्थात् पायस खुवाउने चलन रहिआएको छ। वैदिक सनातन धर्मअनुसार श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधबाट बनेको खीर खुवाउने परम्परा आज पनि कायमै छ।

खीर चामल, सावधाना, सेवई, मकै, गाजर आदि सामग्रीबाट बनाइने गरिन्छ। सावधाना (साबुदाना)लाई फलफूलकै वर्गमा राखिन्छ। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर पनि विशेष रूपमा बनाइन्छ।

नेपाली बृहत् शब्दकोशअनुसार खीरलाई “दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै” भनेर परिभाषित गरिएको छ।

नेपाली समाजमा असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घीउ–खट्टे, र माघ १५ मा मालपुवा लगायत सामग्री बनाएर आफन्तजनलाई खुवाउने चलन छ।

यसैबीच, राष्ट्रिय दुग्ध विकास बोर्डले पनि साउन १५ लाई खीर दिवस’का रूपमा मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="