दाङ, २० साउन । लगातारको अविरल वर्षाका कारण दाङका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेषगरी घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोलामा पानीको बहाव बढ्दै गएपछि साना सवारी साधनको आवागमनमा समस्या उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले नदी तथा खोलामा पानीको बहाव बढिरहेकोले सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । हाल पनि वर्षा निरन्तर जारी रहेको जनाइएको छ ।
गएरातिदेखिको लगातारको वर्षाका कारण राप्ती नदी, बबई नदी, सेवार खोला, कालाखोला, ग्वारखोला, सक्राम खोला, पातुखोला लगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको छ ।
यद्यपि हालसम्म कुनै पनि नदी तथा खोलाले खतरा तह पार गरेको छैन । तर, निरन्तर पानी परिरहेकाले नदी तथा खोलातटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले आग्रह गरेका छन् ।
गरे
लगातारको वर्षाले होचा स्थानमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोलामा प्रहरीले सवारी आवागमनमा सर्तकता अपनाउन सुरक्षाकर्मी तैनाथ गरेको छ ।
प्रवक्ता रानाले खोलामा पानीको बहाव उच्च भएको अवस्थामा साना सवारी साधन जवरजस्ती चलाउँदा दुर्घटनाको जोखिम हुने भएकाले प्रहरीको निगरानी समेत बढाइएको जानकारी दिए।
दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ । ती ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति मधेश प्रदेशसहित अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस