after_navbar

वैदेशिक रोजगारका विज्ञापन ‘श्रम संसार पोर्टल’मा अनिवार्य


श्रावण २१, २०८२



काठमाडौँ,२० साउन । वैदेशिक रोजगारसँग सम्बन्धित सबै विज्ञापन अब अनिवार्य रूपमा ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’ मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने भएको छ।

ad

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सो व्यवस्था लागू गरेको हो।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(९)(३०) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने प्रावधान यथावत रहने उल्लेख गरेको छ। तर अबदेखि सोही विज्ञापन अनिवार्य रूपमा श्रम संसार पोर्टलमा पनि प्रकाशित गर्नुपर्नेछ।

अनलाइन अनिवार्य, नत्र कारबाही
विज्ञापन केवल पत्रिकामा मात्र प्रकाशित गर्दा नागरिक एपमार्फत सूचना प्राप्त गर्न नसकिने समस्या देखिएपछि अनलाइन प्रकाशन अनिवार्य गरिएको विभागले स्पष्ट पारेको छ।

अबदेखि वैदेशिक रोजगार व्यवसायीहरूले कामदार मागसम्बन्धी विज्ञापन प्रकाशन गर्दा अनिवार्य रूपमा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्नुपर्नेछ। विज्ञापनमा आवश्यक सम्पूर्ण विवरण समावेश गर्न विभागले निर्देशन दिएको छ।

नयाँ व्यवस्थाअनुसार अनलाइनमा विज्ञापन नअपलोड गरिएको खण्डमा सो विज्ञापन अपूर्ण ठहरिनेछ र सम्बन्धित रोजगार व्यवसायीलाई नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

सरकारले ‘श्रम संसार पोर्टल’लाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएकाले अब नागरिकहरूले सजिलै आफ्नो मोबाइलबाटै वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन हेर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="