सप्तरी,२१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्करी रोक्न पुगेका सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको छ। मंगलबार राति भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको हो।
मृतक ३६ वर्षीय लालु यादवको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। झडपमा बायाँ तिघ्रामा गोली लागेका यादवलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, जहाँ उपचारका क्रममा उनको ज्यान गएको हो।
प्रहरीका अनुसार, तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली मंगलबार राति कमलपुर पुग्दा केही स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बन्यो। अवस्था नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली प्रहार गरेको थियो।
प्रहरीका अनुसार, झडपमा एक प्रहरी पनि घाइते भएका छन्। साथै, भारततर्फ तस्करी गर्न लागिएको केही कार्टुन मदिरा पनि नियन्त्रणमा लिएको जानकारी दिइएको छ।
यसैबीच, घटनाको विरोधमा मृतकका आफन्त तथा स्थानीयले बुधबार बिहानैदेखि राजविराजमा प्रदर्शन गरिरहेका छन्। निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शनकारीले सडकमा टायर बालेर आवागमन अवरुद्ध पारेका छन्।
प्रदर्शनका कारण राजविराज बजार क्षेत्रमा सामान्य त्रासको वातावरण देखिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस