काठमाडौँ, २१ साउन। उदयपुरमा मदिरा सम्झेर डिजेल सेवन गरेका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय अन्तनारायण श्रेष्ठले घरमै राखिएको डिजेल मदिरा ठानी पिएपछि बिरामी परेका थिए।
मंगलबार साँझ करिब ७ः३० बजे डिजेल सेवन गरेका श्रेष्ठलाई सुरुमा नगर अस्पताल बेलटार लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो। तर, बुधबार बिहान ६ः३० बजे उपचारकै क्रममा वृद्धको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलटारले जानकारी दिएको छ।
हाल मृतकको शव अस्पतालमै राखिएको र घर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले यस विषयमा अनुसन्धान अगाडि बढाइएको बताएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस