दाङ, २१ साउन । दाङको तुलसीपुरका एक व्यक्ति १९ दिनदेखि बेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३२ वर्षीय रत्नबहादुर बुढाथोकी १९ दिनदेखि बेपत्ता छन् । साउन ३ गते चामल किन्न तुलसीपुर बजार गएका उनी अहिलेसम्म घर फर्किएका छैनन् ।
श्रीमती कमला बुढाथोकीका अनुसार, साउन ३ गते दिउँसो करिब १२ बजे दुई हजार रुपैयाँ दिएर चामल किन्न घरबाट निस्किएका थिए । घरबाट निस्किएलगत्तै रत्नको मोबाइल फोन स्विच अफ भएको कमलाले जानकारी दिइन् ।
ू‘निस्किएलगत्तै फोन अफ भयो । त्यसपछि उहाँसँग सम्पर्क हुन सकेन । उनले भनिन्–‘कतै महिला लिएर भाग्नुभयो कि भन्ने शंका लागेर सोही दिन दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय तुलसीपुर पुगेर मिसिङ रिपोर्ट गरे । अँझै पत्ता लागेन ।’
उनका अनुसार, बेपत्ता हुनु अघिल्लो दिन साँझ पति–पत्नीबीच सामान्य विवाद भएको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सूर्य रानाले रत्नबहादुर बेपत्ता भएको जानकारी आएपछि खोजी कार्य अघि बढाइएको बताए ।
‘श्रीमतीले मिसिङ रिपोर्ट दिनुभएको छ । उहाँले सिकाएका एक जनालाई पनि सोधपुछ गर्यौं, तर हालसम्म केही उपलब्धि छैन । उनले भने–‘कल डिटेल मागेका छौं, त्यसको रिपोर्ट आएपछि थप जानकारी आउला भन्ने अपेक्षा छ । ’
बेपत्ता रत्नबहादुरकी बहिनी घना बुढाथोकीका अनुसार, दाजुले स्मार्टफोन प्रयोग नगर्ने र फेसबुकसमेत चलाउने नगरेकाले पनि खोजीमा समस्या भएको छ ।
‘उहाँसँग सानो पिटपिटे मोबाइल मात्र छ । त्यसैले पनि ट्र्याक गर्न गाह्रो भएको छ। ’घनाले भनिन् ।
परिवारजनले रत्नबहादुरको सकुशल फिर्तीको लागि सबैसँग सहयोगको अपील गरेका छन् । यदि कसैले देखेको वा जानकारी पाएको खण्डमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन पनि आग्रह गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस