after_navbar

दाङमा हत्या आरोपमा फरार महिला २३ वर्षपछि पक्राउ


श्रावण २२, २०८२


दाङ, २१ साउन । हत्याको आरोपमा फरार एक महिला २३ वर्षपछि पक्राउ परेकी छन् । दाङको गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । उनले आफ्नै सौताको ९ वर्षीय छोराको हत्या गरेको अभियोगमा २०६० सालमा अदालतबाट १० वर्ष कैद सजाय पाएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएकी थिइन् ।

ad

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार, शर्मालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो ।

२०५९ साल असार १९ गते बसन्ताले सौताको छोरा शरद शर्मामाथि लाठी प्रहार गरी हत्या गरेपछि शव मलखादमा गाडेकी थिइन् । यस घटनामा जिल्ला अदालत दाङले २०६० साल असोज २६ गते उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो । तर सोही वर्ष माघ ३ गते पुनरावेदन अदालत तुलसीपुरले सजाय बढाएर १० वर्ष पुर्‍याएपछि उनी फरार भएको डीएसपी शाहले जानकारी दिए ।

शर्मा फरार भएपछि प्रहरीले खोजी कार्य जारी राखेको थियो । पछिल्लो समय उनी काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंसँग समन्वय गरी उनीमाथि निगरानी बढाएको थियो ।

त्यसक्रममा हिजो मंगलबार बिहान करिब साढे ८ बजे नयाँ बसपार्क क्षेत्रको सडक खण्डबाट उनलाई पक्राउ गरिएको डीएसपी शाहले बताए ।

शर्मालाई अब दाङ जिल्ला अदालतमार्फत कैद सजाय भुक्तानका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="