काठमाडौँ, २२ साउन। देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण कम्तीमा ६ स्थानमा प्रमुख सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर आसपास आज बिहानदेखि पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका–९ बिमिरेभन्ज्याङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग आवागमन बन्द भएको छ।
यता, गएको जेठ ६ गतेदेखि अवरुद्ध कोशी राजमार्ग अझै खुल्न सकेको छैन।
साउन १४ गतेदेखि पासाङल्हामु राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध छ। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ र ३ मा बाढीका कारण सडक अवरुद्ध भएको हो।
आइतवारदेखि अरनिको राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ को कोदारी क्षेत्रमा पहिरो खसेर सडक बन्द भएको हो।
यस्तै, असार ९ गतेदेखि अवरुद्ध जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्डसमेत अझै सञ्चालनमा आउन सकेको छैन।
सरकार तथा सम्बन्धित निकायले सडक खुलाउन प्रयास जारी राखे पनि लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको जनाइएको छ। यात्रुहरुलाई सावधानीपूर्वक यात्रा गर्न र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस