दाङ,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको रिहाइसम्बन्धी निवेदनमाथिको सुनुवाइ सकिएको छ। सहकारी ठगी र संगठित अपराध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेको निवेदनमाथि आजै आदेश आउने सम्भावना रहेको छ।
न्यायाधीश नारायण सापकोटाको इजलासमा सोमबार भएको सुनुवाइमा लामिछाने पक्ष र सरकारी वकिलको तर्फबाट बहस सकिएपछि मुद्दा आदेशको तयारीमा पुगेको हो। अब अदालतले लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्नेबारे निर्णय सुनाउनेछ।
लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिई दफा ७१ बमोजिम रिहाइको माग गर्दै साउन १९ गते निवेदन दर्ता गराएका थिए। निवेदनमा उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टीमा राखी धरौटीमा रिहाइ पाउनुपर्ने माग गरेका छन्।
निवेदन दर्ता भएको दिन नै जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश दिएको थियो। तर, साउन २० गते न्यायाधीश प्रल्हाद कुमार योगी र साउन २१ गते न्यायाधीश दिपेन्द्र थापा मगरको इजलासमा चढेको पूरक पेशी निवेदकका कानुन व्यवसायीको मागमा स्थगित भएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस