after_navbar

वडाध्यक्षमाथि दोहोरो नागरिकता लिएको उजुरीः छानबिन गर्दै प्रशासन


श्रावण २७, २०८२



काठमाडौ,२६ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादमाथि दोहोरो नागरिकता लिएको आशंकामा जिल्ला प्रशासन कार्यालयले छानबिन तीव्र पारेको छ।

ad

प्रसादविरुद्ध दुई महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो। उनीमाथि भारत र नेपाल दुवै देशको नागरिकता लिएको आरोप लागेको छ ।

अख्तियारले नागरिकताको विषय आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै साउन ७ गते उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको जनाएको छ। त्यसपछि प्रशासनले अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीका अनुसार रामानन्द प्रसादको अनुहार मिल्ने फोटो भएको भारतको नागरिकता फेला परेको छ। सो नागरिकता भारतमा पप्पु यादवको नाममा जारी गरिएको भए पनि फोटो भने वडाध्यक्षसँग मिल्दोजुल्दो रहेको छ।

यही फोटो भएको भारतीय मतदाता परिचयपत्रसमेत भेटिएको तिवारीले जानकारी दिए। यद्यपि दुवै देशको नागरिकतामा नाम, थर र अभिभावकको विवरण फरक९फरक रहेको पनि प्रशासनले जनाएको छ।

फोटो मिल्दो देखिएपछि झन्डै १०–१५ दिनअघि वडाध्यक्ष प्रसादलाई कार्यालयमा बोलाएर सोधपुछ गरिएको थियो। सो अवसरमा वडाध्यक्षले आफूले दोहोरो नागरिकता नलिएको दाबी गरेका थिए। “यसबारे थप प्रष्टता पाउन भारतीय दूतावासलाई पनि जानकारी गराएका छौं, तर अहिलेसम्म जवाफ आएको छैन,” तिवारीले भने।

वडाध्यक्षकै फोटो प्रयोग भएको नागरिकताको विषयलाई गम्भीर रूपमा लिँदै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई थप अनुसन्धान गर्न निर्देशन दिएको छ।

नेपाल नागरिकता ऐन, २०६३ अनुसार झुटो विवरणका आधारमा नागरिकता लिएको पुष्टि भएमा कानुनी कारबाही हुने व्यवस्था छ। यही अनुसार प्रहरीलाई पत्राचार गरिएको प्रशासनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपककुमार राईले दुई साता अघि प्रशासनबाट पत्र आएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। “हालसम्म ठोस अपडेट छैन, तर अनुसन्धान सक्रिय रूपमा अगाडि बढिरहेको छ,” उनले भने।

वडाध्यक्ष रामानन्द प्रसाद २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० बाट उम्मेदवार भई निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="