बाँके,३० साउन । प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले उनीहरुलाई शुक्रबार दिउँसो १२ बजे नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार नेपालगंज बसपार्क नजिक लागु औषधको कारोबार भइरहेको सूचना अनुसार लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्दा गोली प्रहार गरिएको हो ।
गोली प्रहारबाट भारत बहराईच जिल्ला रुपैडिहाका २० वर्षीय कार्तिक कुमारलाई चोट लागेको प्रवक्ता पातलीले बताए । उनका अनुसार कुमारसँगै नेपागन्ज–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी र भारतको रुपैडिहाका २० वर्षीय अजयकुमारलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले उनीहरुको साथबाट १६५ ग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इँटा प्रहारबाट एकजना प्रहरी घाइते भएको जनाइएको छ ।
प्रहरीले चलाएको गोली लागेर घाइते भएका कुमारको उपचार नेपालगन्जस्थित सन्जीवनी अस्पतालमा भइरहेको प्रहरी प्रवक्ता पातलीले बताए । कुमारको दायाँ खुट्टामा गोली लागेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस