after_navbar

टेलिकम तुलसीपुर : बिहान ७ देखि बेलुका ७ बजेसम्म कार्यालय, तत्काल गुनासो सम्बोधन


भदौ ०२, २०८२


दाङ, २ भदौ । नेपाल टेलिकम दाङको तुलसीपुर कार्यालयले कार्यालय समय बढाएर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिने व्यवस्था गरेको छ। यसअघि १० बजेदेखि ५ बजेसम्म मात्र सेवा दिँदै आएकोमा अब दुई सिफ्टमा कर्मचारी परिचालन गरी दिनभर १२ घण्टा सेवा उपलब्ध गराइएको हो।

ad

कार्यालय प्रमुख प्रविण कुमार चौधरीका अनुसार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म दोस्रो सिफ्टका कर्मचारीले सेवा दिने व्यवस्था मिलाइएको छ। उनले नयाँ व्यवस्थाले सेवाग्राहीलाई थप सहजता हुने, गुनासो व्यवस्थापन छिटो हुने र सेवा प्रवाहमा प्रभावकारिता बढ्ने बताएका छन्।

चौधरीले कार्यालयले तोकेको समयअनुसार खाजा तथा खाना खर्च पनि उपलब्ध गराउँदै आएको र यसबाट कर्मचारीको कार्यसम्पादन ऊर्जाशील बनेको बताए। उनका अनुसार, यस नयाँ अभ्यासले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सहज भएको छ।

यसअघि कार्यालयमा आएको गुनासोमध्ये करिब ४५ प्रतिशत मात्र पहिलो दिनमै समाधान हुने गरेकोमा अहिले ९४ प्रतिशत गुनासो त्यही दिनमै सम्बोधन भइरहेको छ। सेवाग्राहीले पनि कार्यालयको सेवा छिटो, छरितो र जिम्मेवारपूर्ण भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।

तुलसीपुरका स्थानीय विश्राम कार्कीले पहिले सामान्य सेवा लिन दिनभर कुर्नुपर्ने भए पनि अहिले छिनभरमै काम सम्पन्न हुने गरेको बताए। त्यस्तै, सेवाग्राही गिरिशा शर्माले बेलुका ४ बजे कार्यालय पुगेर इन्टरनेट र टेलिफोन जोड्ने अनुरोध गरेपछि एक घण्टामै आफ्नो घरमा दुवै सेवा पाएको अनुभव सुनाइन्।

गत वैशाखदेखि ट्रायलको रूपमा सुरु गरिएको यो अभ्यास परिणामसहित प्रभावकारी देखिएपछि निरन्तरता दिइएको कार्यालयले जनाएको छ। तुलसीपुर कार्यालयबाट दाङसहित रुकुमपूर्व, रोल्पा र प्युठानका करिब १० हजार सेवाग्राही लाभान्वित हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="