दाङ,५ भदौ । लोपोन्मुख घुमन्ते समुदाय राउटेका ज्येष्ठ सदस्यको निधन भएको छ। राउटे समुदायका ७५ वर्षीय नन्दाराम शाहीको बिहीबार बिहान हृदयघातका कारण निधन भएको हो।
शाही हाल सुर्खेतको लेकबेशी नगरपालिका–१० झुप्राखोला नजिक जंगलमा परिवारसहित बस्दै आएका थिए। यसअघि उनीहरू वीरेन्द्रनगर–११ चन्दनपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए। राउटे परियोजनामा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार शाही पछिल्लो समय स्वास्थ्य समस्याले कमजोर बनेका थिए। एक वर्षअघि श्रीमती गुमाएपछि उनी अझै अस्वस्थ बन्दै गएका थिए।
मृतक शाहीको परिवारमा छोरी बहिरा शाही, ज्वाइँ चन्द्रमान शाही र सात जना नातिनातिनी छन्। उनको निधनसँगै राउटे समुदायको कुल संख्या घटेर अब १३५ पुगेको छ।
घुमन्ते जीवनशैलीलाई निरन्तरता दिँदै आएको राउटे समुदाय करिब नौ सय वर्षदेखि नेपालको विभिन्न जंगलमा बस्दै आएको मानिन्छ। प्रायः कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यानलगायत जिल्लाका वन क्षेत्रमा टहरा बनाएर बस्ने उनीहरूको मुख्य जीविकोपार्जन काठका सामग्री उत्पादन र वस्तु साटासाट हो।
नेपाल मानव अधिकार आयोगले राउटे समुदायको अवस्था दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ। आयोगका अनुसार राज्यले पर्याप्त संरक्षण र सुविधा नदिए यो समुदाय परम्परा–संस्कृतिसहित पृथ्वीमै लोप हुने जोखिममा छ।
सरकारले हाल राउटे समुदायलाई लोपोन्मुख सूचीमा राखी सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। तर औपचारिक शिक्षा, कृषि, पशुपालन र स्थायी बसोबासप्रति उनीहरूको अस्वीकृति यथावत छ।
तस्बिर:साभार
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस