दाङ, ८ भदौ । दाङको देउखुरीमा आइतबार बिहान टिप्पर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेका छन्। मोटरसाइकलमा सवार थापाको उपचारका क्रममा भालुवाङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए।
सोही मोटरसाइकल चालक, ऐरावती–५ कै २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन्। उनको भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक बमले बताए।
गढवा गाउँपालिका–१ धोद्रे पुल नजिक आइतबार बिहान करिब ६ बजे चन्द्रौटा–पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा आउँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ। यसैबीच, दुर्घटनामा संलग्न टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस