काठमाडौँ, ९ भदौ। देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव कायम भएकाले मनसुन गतिविधि सक्रिय देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य प्रदेशका तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ।
बागमती र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै, मधेस, कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतास चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।
आज राति मधेस र कोशीसहित देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली मात्र हुने विभागको अनुमान छ।
मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका केही तराई भूभागमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस