after_navbar

मदिरामा झिँगा भेटिएपछि २ लाख जरिवाना


भदौ ११, २०८२


काठमाडौं,११ भदौ । मदिरामा झिङ्गा भेटिएपछि काठमाडौं महानगरपालिकाले मदिरा कम्पनीलाई २ लाख जरिवाना गरेको छ। महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.ले उत्पादन गरेको ‘मुस्ताङ गोल्ड’ नामक मदिरामा अखाद्य वस्तु भेटिएपछि कारबाही गर्दै २ लाख रुपैयाँ जरिवाना गरेको छ।

ad

सिलबन्दी अवस्थामा बजारमा वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि उपभोक्ताले भदौ ४ गते महानगर प्रहरी बलमा गुनासो दर्ता गराएका थिए। गुनासोपछि नमुना संकलन गरी गरिएको भौतिक परीक्षणमा बोतलभित्र अखाद्य तत्त्व भएको पुष्टि भएको हो।

काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यसलाई अनुचित व्यापारिक गतिविधि ठहर गर्दै दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम कानुन उल्लङ्घन गरेको ठहर गरिएको महानगरले जनाएको छ।

महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार जरिवाना रकम राजस्व खातामा जम्मा गरी सोको विवरण विभागमा बुझाउन उद्योगलाई निर्देशन दिइएको छ।

बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न महानगरले निरन्तर अनुगमन गर्ने र उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक कारबाही कडाइका साथ गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="