after_navbar

आज ऋषिपञ्चमी पर्व


भदौ १२, २०८२


काठमाडौं ,१२ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभरका महिलाहरूले श्रद्धापूर्वक मनाइरहेका छन्। नारीहरूको विशेष पर्व मानिने ऋषिपञ्चमीका दिन महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी व्रत बस्ने प्रचलन छ।

ad

धार्मिक विश्वासअनुसार आज बिहानै नदी, खोला, पोखरी वा तलाउमा गएर ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ। यसरी स्नान गरी पञ्चगव्य सेवन गरेर अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। यही कारणले यस पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार रजस्वला अवधिमा हुने त्रुटिबाट मुक्त भई पवित्रता कायम गर्न ऋषिपञ्चमी पर्व मनाउने गरिन्छ। नारीलाई रजस्वलाको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने मान्यता छ।

यस पर्वसँग जोडिएको एउटा प्राचीन किंवदन्ती अनुसार इन्द्रले विश्वरुपको हत्या गर्दा भएको ब्रह्महत्या पापको दोष एक वर्ष भोगेपछि बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको मानिन्छ। त्यसकै परिणाम स्वरूप उषरभूमि, रूखको खोटो, पानीमा निस्कने फिँज र महिलामा रज देखिन थालेको धार्मिक विश्वास छ।

आजको दिन महिलाले स्नान गरी पूजा गरेर केवल नरोपी अन्न—सामा, कागुनो, कन्दमूल, कर्कला आदि खाने गरी एक छाक हविष्य व्रत बस्ने परम्परा छ।

यस अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरसहित देशभरका ऋषि मन्दिरहरूमा महिलाहरूको घुइँचो लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="