after_navbar

नेपालमा अब १८–३५ वर्षकालाई ‘युवा’ भनिने


भदौ १२, २०८२


काठमाडौँ, १२ भदौ ।अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका मानिसहरूलाई ‘युवा’ भनिने भएका छन्। मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको राष्ट्रिय युवा नीति–२०८२ अनुसार यस उमेर समूहलाई नयाँ युवा परिभाषामा राखिएको हो।

ad

यसअघि लागू राष्ट्रिय युवा नीति–२०७२ अनुसार युवाको उमेर समूह १६–४० वर्ष थियो। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार, ‘बालबालिका ऐनले १८ वर्षसम्मलाई बालबालिका मानेको र अन्तर्राष्ट्रिय मानकअनुसार युवाको उमेर निर्धारण गरिएको हो।’

नयाँ नीति अनुसार, युवाको सर्वाङ्गीण विकास, राष्ट्र निर्माणमा सार्थक सहभागिता, आत्मनिर्भरता र स्वरोजगारमा जोड दिइएको छ। युवालाई स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र र करियर काउन्सिलिङमार्फत सहायता गर्ने व्यवस्था गरिएको छ।

युवा नीतिले स्वस्थ, शिक्षित, सिर्जनशील, नैतिकवान् र उद्यमशील युवाको विकास, प्रविधिमा पहुँच र साइबर सुरक्षा सुनिश्चित गर्ने, र राष्ट्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विकासमा युवाको नेतृत्वदायी भूमिका बढाउने लक्ष्य राखेको छ।

यसैगरी, नीति अन्तर्गत परम्परागत सिपको आधुनिकीकरण, हरित कृषि रोजगार कार्यक्रम, सीपमूलक तालिम र उद्यमशीलता प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="