after_navbar

वायु प्रदूषण नियन्त्रण भए नेपालीको आयु ३ वर्षभन्दा बढी बढ्ने


भदौ १३, २०८२


ad

काठमाडौं,१३ भदौ। वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार कायम गर्न सकिए नेपालीको औसत आयु ३ वर्ष ३ महिना बढ्न सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।

अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटले बिहीबार सार्वजनिक गरेको ‘एयर क्वालिटी लाइफ इन्डेक्स–२०२५’ प्रतिवेदनले नेपालका लागि वायु प्रदूषणलाई दीर्घायुमा पर्ने सबैभन्दा ठूलो बाह्य जोखिमको रूपमा देखाएको हो।

पिएम २.५ सबैभन्दा खतरनाक: प्रतिवेदनअनुसार नेपालमा २०२३ मा वायु प्रदूषण (पिएम–२.५) को सरदर स्तर ३८.३ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन २०२२ को तुलनामा १० प्रतिशतले बढी हो। डब्लुएचओले पिएम–२.५ को वार्षिक औसत सीमा ५ माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ। त्यस आधारमा नेपालको प्रदूषण स्तर डब्लुएचओको मापदण्डभन्दा करिब ७.६६ गुणा बढी छ।

पिएम–२.५ भनेको प्रतिघनमिटर वायुमण्डलमा तैरिने अत्यन्त स–साना र विषाक्त कणलाई जनाउने सूचक हो, जसले मानव स्वास्थ्यमा गम्भीर असर पार्छ।

तराईमा अत्यधिक प्रदूषण: मध्य तथा पूर्वी तराईका रौतहट, महोत्तरी र बाराका बासिन्दा सबैभन्दा प्रदूषित हावामा श्वास फेर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। यदि यी जिल्लामा डब्लुएचओको मापदण्डअनुसारको हावा उपलब्ध भए त्यहाँका मानिसको आयु ५.२ वर्षसम्म बढ्न सक्ने देखाइएको छ।

प्रदेशगत हिसाबमा मधेसपछि सबैभन्दा प्रदूषित प्रदेश कोसी रहेको छ। त्यहाँका बासिन्दाले स्वच्छ हावा पाए ३.६ वर्ष आयु बढाउन सक्ने अध्ययनले देखाएको छ।

नेपालको ४० प्रतिशत जनसंख्या बसोबास गर्ने मध्य तथा पूर्वी तराईमा मात्रै प्रदूषण नियन्त्रण भए, त्यहाँका मानिसको औसत आयु ४.७ वर्षले बढ्ने अनुमान गरिएको छ। राजधानी काठमाडौंमा प्रदूषणका कारण औसत आयु २.६ वर्षले घटेको छ।

धूम्रपानभन्दा बढी खतरनाक: १९९८ देखि २०२३ सम्म नेपालमा पिएम–२.५ को स्तर ७४ प्रतिशतले बढेको पाइएको छ। यसले मात्र सरदर आयुलाई थप १.६ वर्षले घटाएको छ।

प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषण धूम्रपान र आहारजन्य जोखिमभन्दा बढी खतरनाक छ। धूम्रपानले औसत आयु १.९ वर्ष र आहारजन्य जोखिमले १.३ वर्षले घटाउँछ भने वायु प्रदूषणले ३ वर्षभन्दा बढी घटाइदिन्छ।

विश्वकै सबैभन्दा ठूलो बाह्य स्वास्थ्य जोखिम: प्रतिवेदनले विश्वभर वायु प्रदूषणका कारण मानिसको सरदर आयु १.९ वर्षले घटेको देखाएको छ। यो प्रभाव धूम्रपानसँग लगभग बराबर भए पनि मद्यपानभन्दा चार गुणा बढी, सडक दुर्घटनाजस्ता यातायातजन्य घटनाभन्दा पाँच गुणा बढी र एचआइभी/एड्सभन्दा ६ गुणाभन्दा बढी गम्भीर देखिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="