काठमाडौं,१३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए।
बैठकमा भ्रमणका क्रममा उठाइने एजेन्डा र अन्य नियमित विषयमा समेत छलफल भएको बताइयो।
प्रधानमन्त्री ओली शनिबार पाँच दिने चीन भ्रमणमा प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्ने कार्यक्रम छ। यससँगै, प्रधानमन्त्री ओलीले भदौ १६ गते तियानजिनमा हुने एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने तयारी पनि गरिएको छ।
चीन भ्रमणका क्रममा उनले जापानविरुद्धको युद्धमा विजयी भएको अवसरमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का र छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा तथा अन्य उच्चपदस्थ सरकारी अधिकारी रहेका छन्।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस