कञ्चनपुर, १६ भदौ । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थानमा ४५ घर डुबानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन्। यस डुबानका कारण ७० जना विस्थापित भई नजिकैको विद्यालयमा सुरक्षित राखिएको छ।
त्यसैगरी, दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लामा १५ घर डुबानमा परेका छन्। प्रभावित ५५ जना स्थानीयवासी, उनीहरूको सरसामान र चौपायालाई जमुना आधारभूत विद्यालयमा राखिएको छ। यस्तै, भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पाँच घर डुबानमा परेको प्रहरीले जनाएको छ।
यसैबीच अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ। नदीमा पानीको बहाव बढ्दै एक लाख ४० हजार २५० क्युसेक पुगेपछि भारतीय पक्षले शारदा ब्यारेजमार्ग हुँदै चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको प्रवक्ता बोहराले जानकारी दिए।
उनका अनुसार, नदीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले आवागमन रोक्ने प्रावधान अनुसार अहिले आवाजाही पूर्ण रूपमा बन्द गरिएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस