काठमाडौं, १६ भदौ । प्रहरीले नक्कली कागजात बनाउने गिरोह पक्राउ गरेको छ । एसईईको प्रमाणपत्रदेखि प्रहरी रिपोर्ट र विभिन्न अनुभवका पत्रहरू समेत नक्कली रूपमा बनाउने गिरोहलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । प्रहरीले आइतबार दिउँसो काठमाडौं महानगरपालिका–२६, सामाखुशी टाउनप्लानिङस्थित एक पसलमा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा गोरखाको शहीद लखन गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं–३ मा बसोबास गर्दै आएका ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ का २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ का २९ वर्षीय सविन आले मगर रहेका छन्।
प्रहरीका अनुसार अचल लामिछानेले सञ्चालन गर्दै आएको ‘ईजी सप’ नामक पसलमा नक्कली कागजातहरू तयार पारिने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले छापा मारेको हो।
छानबिनका क्रममा पसलमा रहेको कम्प्युटरमा सरकारी तथा गैरसरकारी कार्यालयहरूका नक्कली कागजात फेला परेपछि प्रहरीले ती कागजातसहित कम्प्युटर बरामद गरेको छ। त्यसपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिएका छन्।
प्रहरीले पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस