काठमाडौं,१७ भदौ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटनामा परि हराएका दुई जनाको शव फेला परेको छ।
भाद्र १५ गते गोसाईकुण्ड–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए। उनीहरू सम्पर्कविहीन भएपछि आफन्तले भाद्र १७ गते जिल्ला प्रहरी कार्यालय रसुवामा खोजीका लागि निवेदन दिएका थिए।
निवेदनपछि श्रीनाथ गण धुन्चेस्थित चेकपोस्टको सिसिटिभी फुटेज हेरिँदा भाद्र १५ गते राति करिब १० बजे उनीहरू धुन्चेतर्फ जाँदै गरेको देखिएको थियो। त्यसकै आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नं. २० गुल्म रसुवाको संयुक्त टोली खोजीमा परिचालन गरिएको थियो।
खोजीका क्रममा एक शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको जानकारी प्राप्त भएको छ।
प्रहरीका अनुसार घटनास्थलको अवस्थाले मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएको अनुमान गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस