काठमाडौं,२० भदौ । बर्दीबास नगरपालिका–११, खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवलाई छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
शिक्षक यादवमाथि शिक्षालयका चार जना छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ। अभिभावकसहित छात्राले दिएको जाहेरीका आधारमा प्रहरीले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो।
यादवले रातिको समयमा फोन गरेर कहिले परीक्षामा पास गराइदिने प्रलोभन देखाउने, कहिले अभद्र धाकधम्की दिने जस्ता गतिविधिबाट छात्रालाई मानसिक यातना दिएको आरोप छ। यससम्बन्धी अडियो रेकर्ड समेत फेला परेको प्रहरीले जनाएको छ।
निर्मल लामा बहुप्राविधिक शिक्षालयका प्रमुख रमण मेहताले अभिभावकसहित आएका चार छात्राले उजुरी दिएका कारण घटनाबारे थाहा पाएको बताउँदै शिक्षालय प्रशासनले तत्काल सम्बन्धित निकायलाई जानकारी गराएको जानकारी दिए। उनले घटनाबाट स्तब्ध भएको भन्दै शिक्षालयको मर्यादा कायम राख्न र पुनः दोहोरिन नदिन सजग रहने बताए।
२०७७ सालदेखि करारमा कार्यरत महोत्तरीको सोनमा गाउँपालिका स्थायी घर भएका यादवलाई यसअघि सोही शिक्षालयमा तीन छात्राले सामूहिक विष सेवन गरेको घटनासँग पनि जोडेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २०८१ पुस १५ गते विष सेवन गरेका छात्रामध्ये एक जनाको शव माईस्थान जंगलमा फेला परेको थियो।
पक्राउ परेका यादवलाई महोत्तरी जिल्ला अदालतको आदेशमा सात दिनको म्याद थप गरी न्यायिक हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा सूचना अधिकारी शैलेन्द्र भट्टले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस