काठमाडौँ,२० भदौ । यात्रुलाई जबरजस्ती गाडीमा चढ्न बाध्य बनाउने ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने, यात्रुलाई जबरजस्ती ट्याक्सीबाट निकाली आफ्नो चिनेको गाडीमा चढ्न बाध्य पार्ने, बाटो हिँडिरहेका यात्रुलाई हैरानी दिई सामान तथा झोलाहरू जबरजस्ती तान्ने ३३ जना पक्राउ परेका हुन् ।
उनीहरूले आफूले भनेको गाडीमा चढ्न नमानेमा विभिन्न किसिमको अश्लील शब्दहरू प्रयोग गरी दुःख हैरानी दिने गरेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुरका १०, उदयपुरका ६, बाराका ५, सर्लाहीका ३, काभ्रे र दोलखाका २/२ तथा रामेछाप, ओखलढुङ्गा, चितवन, तनहुँ र सप्तरीका १/१ जना रहेका छन् । उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक एवम् प्रवक्ता अपीलराज बोहराले बताउनुभयो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस