काठमाडौं,२५ भदौ । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन्। संवेदनशील समयमा घटनाक्रमको नेतृत्व गर्नका लागि कानून र विधिको रक्षा गर्न सक्ने इमान्दार छवि भएको व्यक्तिलाई अघि सार्नुपर्ने भएकाले कार्कीको नाम अघि आएको बताइएको छ।
बुधबार दिउँसो जेनजी प्रतिनिधिले कार्कीको नाम प्रस्ताव गरेका थिए। तर, जंगीअड्डाबाहिर केही युवाले त्यसविरुद्ध नाराबाजी गरेका छन्। कतिपयले मेयर बालेन शाहसहितका नामसमेत अघि सारेका छन्।
दिनभर सामाजिक सञ्जाल डिस्कर्डमा जेनजी युवाबीच कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल भएको थियो। त्यही क्रममा पनि कार्कीको पक्षमा बलियो मत आएको थियो। यद्यपि, धेरै युवाले बालेन शाहको नामसमेत प्रस्ताव गरे तर उनी सम्पर्कमा नआएको गुनासो राखेका थिए। मंगलबार बेलुकी बालेनले स्टाटस लेख्दै जेनजीलाई सेनाप्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका थिए।
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए। तर, १५ जनाभन्दा बढी सहभागी भएपछि सेनाप्रमुख सिग्देलले पहिले सहमति गरेर आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो। सो बैठकमा कतिपयले गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रस्ताव राखेपछि रक्षा बमसहितको समूह बाहिरिएको थियो।
अन्तिममा भने सुशिला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति भएको स्रोतले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस