काठमाडौं, २६ भदौ । नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टकला’ पक्राउ परेका छन्। उनी बिहीबार काभ्रेको मंगलटारबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
पूर्वराज्यमन्त्री साहलाई जनकपुर बमकाण्डमा दोषी ठहर गर्दै १२ वर्ष कैद सजाय तोकिएको थियो। बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि उनी अन्य कैदीसँगै भाग्न सफल भएका थिए। भागेपछि साह आफ्नो घर जनकपुर पुगेका थिए, जहाँ उनी आफूनिकट व्यक्तिहरूसँग भेटघाटमा व्यस्त रहेका थिए।
जनकपुरमै रहँदा उनले सामाजिक सञ्जालमार्फत आफूलाई झुटा मुद्दामा फसाइएको दाबी गर्दै कारागारमा राखिएको असन्तुष्टि व्यक्त गरेका थिए। साथै, जेनजी आन्दोलनप्रति समर्थन जनाउँदै पुराना पार्टीका नेताहरूप्रति कटाक्ष गरेका थिए।
तर, प्रहरी प्रशासनले सम्पर्कमा आउन सबै कैदीलाई सूचना जारी गरेपछि साह सशंकित बनेका थिए। काठमाडौँ फर्किने क्रममा गाडीमार्फत यात्रा गर्दै गर्दा उनलाई मंगलटारमा नियन्त्रणमा लिइएको हो।
२०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै भइरहेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको शक्तिशाली बम विस्फोटमा पाँचजनाको ज्यान गएको र ३२ जना घाइते भएका थिए। उक्त घटनाका मुख्य योजनाकारका रूपमा साह दोषी ठहर भएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस