काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनको दबाबपछि अन्ततः नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।
कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई ताजा जनादेशका लागि चुनाव गराउने र त्यतिञ्जेल मुलुकको शासन सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। आन्दोलनकारीको दबाब र संवैधानिक संकटबीच राष्ट्रपतिले संविधानको धारा ६१ मा उल्लेखित ‘अभिभावकीय भूमिका’ प्रयोग गर्दै कार्कीलाई नियुक्त गरेका हुन्।
यसअघि संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था भए पनि प्रतिनिधिसभा विघटन र राजनीतिक रिक्तता उत्पन्न भएपछि नयाँ विकल्प खोजिएको थियो। संविधानविद्हरूसँगको राय–सुझावपछि राष्ट्रपति पौडेलले अन्तरिम सरकार गठनको बाटो रोजेका हुन्।
जेनजी आन्दोलनका क्रममा संसद् विघटन, संविधान खारेजीसहित अन्तरिम सरकार गठनको माग उठेको थियो। तर, राष्ट्रपतिले संविधान खारेजी र आफ्नो राजीनामाको माग अस्वीकार गर्दै संविधान कायम राखेर नागरिक सरकार गठन गर्ने सहमति प्रदर्शनकारीसँग गरेका थिए।
यसअघि २०७७ पुस र २०७८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गरेको नजीर बनेको थियो। तर, यसपटक संकटपूर्ण परिस्थितिमा संसद् विघटन गर्दै कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन भएको हो।
नेपालको राजनीतिक इतिहासमा पहिलोपटक प्रधानमन्त्री बनेकी सुशिला कार्की यसअघि सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस