after_navbar

नख्खु कारागारको पत्र विवाद: रविको दाबी प्रशासनद्धारा अस्वीकार


भदौ २७, २०८२


काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागार प्रशासनको अनुमतिमा नख्खु कारागारबाट बाहिरिएको दाबी गरे पनि प्रशासनले उनको दाबी अस्वीकार गरेको छ।

ad

जेनजी आन्दोलनकै क्रममा २४ भदौमा कारागारबाट बाहिरिएका लामिछानेले आफू प्रशासनले दिएको पत्रकै आधारमा भीडसँगै बाहिरिएको बताएका थिए। तर, नख्खु कारागार प्रशासन प्रमुख सत्यराज जोशीले लामिछानेले सार्वजनिक गरेको पत्र “आधिकारिक नभएको” स्पष्ट पारेका छन्।

जोशीले भने, “त्यो पत्रको कुनै पनि अंश मिलेको देखिँदैन। उहाँहरूले के गर्नुभएको हो मलाई थाहा छैन। उहाँ आउनुभएपछि थप कुरा गरौँला।” उनले लामिछानेसहित फरार कैदीबन्दीहरूलाई नजिकको प्रहरी चौकी वा कारागारमा सम्पर्कमा आउन आग्रह गरेका छन्।

लामिछानेले भने सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै, “कानुनलाई सघाउन कारागारले दिएको पत्र पाएपछि मात्रै बाहिरिएको हुँ, कानुनी प्रक्रियामा सधैं तयार छु,” बताएका छन्। उनले भीड बढेपछि कारागार प्रशासनले जबर्जस्ती बाहिर निकालेको समेत दाबी गरेका छन्।

लामिछानेसँगै फरार भएका मध्ये जनकपुर बमकाण्डमा सजाय काटिरहेका सञ्जय साह ९टकला०लाई भने प्रहरीले बिहीबार काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ। प्रहरीले उनलाई फरार भइरहेका बेला नियन्त्रणमा लिएको दाबी गरे पनि साहले आफू स्वेच्छाले कारागार फर्किँदै गर्दा “जबर्जस्ती नियन्त्रणमा लिएको” आरोप लगाएका छन्।

विवादित पत्रबारे चर्को आलोचना भइरहेका बेला रास्वपाले सभापति लामिछाने कानुनी प्रक्रियाको सम्मान गर्न तयार रहेको स्पष्ट पारेको छ। पार्टी प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत भनेका छन्, “रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ।”

उनका अनुसार शुक्रबार दिउँसो कार्यवाहक सभापति डीपी अर्याल, जिल्ला प्रशासन प्रमुख (सिडिओ)र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो। सो भेटमा रास्वपाले ‘प्रशासनले खबर गरेपछि तुरुन्तै उपस्थित हुने’ सन्देश दिएको उल्लेख छ।

यसअघि कार्यवाहक सभापति अर्यालले पनि रिहाइ प्रक्रियामा प्रयोग भएको पत्रमा “प्राविधिक त्रुटि” भएको स्वीकार गर्दै समन्वयमा कमजोरी भएको बताएका थिए।

विवादित पत्रबारे स्पष्टता नआएसम्म रास्वपा सभापति लामिछाने पुनः कारागार फर्किन तयार रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="