after_navbar

संसद विघटन असंवैधानिक र स्वेच्छाचारीः नेपाली कांग्रेस


भदौ २८, २०८२


काठमाडौं,२८ भदौ । नेपाली कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको संसद विघटनलाई ‘असंवैधानिक, स्वेच्छाचारी र संविधानमाथिको धोका’ ठहर गरेको छ।

ad

जेनजी आन्दोलनपछिको राजनीतिक संकट समाधानका लागि संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले संसद विघटनको कदमको विपक्षमा उभिने निर्णय गरेको हो।

शुक्रबार साँझ बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले आन्दोलनको माग सम्बोधन गर्न संसदमार्फत संविधान संशोधन गरेर नयाँ सरकार गठन गर्न सकिने ‘जिम्मेवार प्रस्ताव’ अघि सारेको स्मरण गराएको छ।

‘हामीले गरेको प्रस्तावमा सबैको जित हुन्थ्यो, आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री नियुक्त हुन्थ्यो र संविधानलाई टेकेर समाधान निस्कन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, सहमतिपूर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ।’

कांग्रेसले संसद विघटनले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र ‘जेनजी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन’ भन्ने गम्भीर आशंका उत्पन्न भएको जनाएको छ। सो निर्णय सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको ठहर पनि विज्ञप्तिमा गरिएको छ।

बैठकले उत्पन्न चुनौतीपूर्ण अवस्थामा संविधानलाई लिकबाट बाहिर जान नदिन र स्थितिलाई थप बिग्रिन नदिन नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको छ। यसका लागि अन्य राजनीतिक दल तथा नागरिक समाजसँग संवाद र परामर्श अघि बढाउने बताइएको छ।

त्यसैगरी कांग्रेसले आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार र तोडफोड भएका संरचनाको तत्काल पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="