काठमाडौ,२८ भदौ । जेनजी आन्दोलनपछिको राजनीतिक व्यवस्थापनमा नयाँ अभ्यास सुरु भएको छ। नयाँ मन्त्रिमण्डलको छनोट भोटिङ प्रक्रियामार्फत हुने भएको हो।
आन्दोलनका अगुवा सुदन गरुङले यसका लागि तयारी थालिएको जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद् सानो आकारको हुने उल्लेख गर्दै “मन्त्रीका नाम भोटिङ प्रक्रियाबाट निश्चित गरिनेछ,” भने।
यसअघि प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्नुअघि पनि जेन–जी समूहले सामाजिक सञ्जाल ‘डिस्कर्ड’मा ‘भर्चुअल’ मतदान गरेर छानेका थिए। सो मतदानमा ५० प्रतिशतभन्दा बढी मत कार्कीको पक्षमा परेको थियो। डिस्कर्डको यो प्रक्रिया ‘एक्स’ वा ‘फेसबुक’मा हुने पोल जस्तै भएको बताइन्छ।
जेन–जी आन्दोलनपश्चात् कसरी अघि बढ्ने र कस्तो सरकार बनाउने भन्ने विषयमा ‘युथ अगेन्स्ट करप्सन’ नामक डिस्कर्ड समूहमार्फत छलफल गरिएको थियो। बुधबार भएको छलफलमा एकैपटक १० हजारभन्दा बढी सहभागी जोडिएका थिए। उक्त छलफल युट्युब, फेसबुक र विभिन्न सञ्चारमाध्यममार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
डिस्कर्ड छलफलमा सहभागीले पालैपालो सुझाव दिने, कमेन्ट र प्रश्नको जवाफ लिने र पछिल्ला अपडेट सुन्ने अभ्यास गरिएको बताइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस