काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार पुनः नख्खु कारागारमा फर्किएका छन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका उनी दिउँसो आफैं कारागार पुगे पनि सुरक्षाको कारण देखाउँदै प्रशासनले करिब पाँच घण्टापछि मात्र भित्र प्रवेश गराएको हो।
लामिछाने भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको कारण देखाउँदै कारागारबाट बाहिरिएका थिए। अदालतको आदेशबिनै बाहिरिएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्नो जन्मदिनको अवसर पारेर कारागार फर्किने घोषणा गरेका थिए। ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय हुँदैन भन्ने विश्वासका साथ म कारागार जाँदैछु,’ लामिछानेले भनेका थिए।
यसअघि उनले आफू प्रक्रिया पूरा गरेरै निस्किएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए। तर नख्खु कारागार प्रशासनले उक्त पत्रलाई फर्जी ठहर गर्दै लामिछानेसहित बाहिरिएका सबै कैदीबन्दीलाई तत्काल फर्किन निर्देशन दिएको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस