काठमाडौं , ४ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड ठूला ढुङ्गासहितको पहिरो खसिरहेकाले अझै अवरुद्ध भएको छ। शुक्रबार बेलुकी ६ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको हो।
प्रहरीका अनुसार निरन्तर खसिरहेको खुक्खा पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। शनिबार बिहानैदेखि सडक खुलाउन प्रयास भए पनि ढुङ्गा र माटो झरिरहेकाले सम्भव हुन सकेको छैन।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उपकरण तयारी अवस्थामा रहे पनि सुरक्षा जोखिमका कारण तत्काल काम सुरु गर्न सकिएको छैन। मुग्लिन प्रहरीले सडक खुल्न अझै ४–५ घण्टा लाग्ने अनुमान गरेको छ।
सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। गन्तव्यमा जाँदै गरेका सवारी साधन रातभर सडकमै रोकिएका थिए। पहिरो खसेको स्थान मुग्लिन बजारबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।
सडक डिभिजन कार्यालयका ईन्जिनियर कृष्णप्रसाद आचार्यले यात्रुलाई वैकल्पिक रूपमा हेटौँडा मार्ग र सिद्धार्थ राजमार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक खसेको ठूलो पहिरोले सडक ढाकेको छ। थप पहिरो नखसेमा करिब ४ घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने उनको भनाइ छ।
शुक्रबार दिउँसो पनि पटक–पटक पहिरो खसेको थियो। पहिरो पन्छाएर सवारी सञ्चालन गरिएको अवस्थामा साँझ झन् ठूलो पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस