after_navbar

अभिषेकको अपहरणपछि हत्या: पाँचजना पक्राउ


असोज ०७, २०८२


काठमाडौं,७ असोज । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाका १७ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

ad

अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

“अहिले नै संलग्न यही हो भन्न सकिने अवस्था छैन, तर छिट्टै अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याइनेछ,” प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए। घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर समेत झिकाइएको छ।

आइतबार राति घर नजिकैको चोकबाट अपहरणमा परेका महतोको शव मंगलबार बिहान घरदेखि करिब १०० मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ। हातखुट्टा बाँधिएको र शरीरमा एसिड खन्याई हत्या गरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जानकारी दिए।

ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएर घर नजिकै घुम्न निस्किएका थिए। त्यसपछि उनी घर फर्किएनन्। परिवारजनले रातभर खोजतलास गरे पनि सोमबार बिहान मात्र अभिषेकको आमाको मोबाइलमा इमोमार्फत पाँच करोड रुपैयाँ फिरौती माग गरिएको थियो। परिवारले उक्त जानकारी प्रहरीलाई तत्काल दिए पनि छोराको सकुशल उद्धार गर्न नसकिएको भन्दै पीडित पक्षले प्रहरीप्रति आक्रोश व्यक्त गरेका छन्।

स्थानीयवासीले पनि घटना अपहरण हो भन्ने पुष्टि गर्नमै प्रहरी ढिलाइ भएको गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="