after_navbar

अस्पतालमा बेड अभाव, कुर्चीमै राखेर उपचार


असोज २३, २०८२


दैलेख, २३ असोज । बिरामीको चाप अत्यधिक बढेसँगै जिल्ला अस्पताल दैलेखले बिरामीहरूलाई कुर्चीमै राखेर उपचार गर्न थालेको छ। २०४२ सालमा ओपीडीका रूपमा बनेको साँघुरो भवनमा बेड अभाव भएपछि यस्तो अवस्था आएको हो।

ad

१५ शैय्याको क्षमता रहेको उक्त अस्पतालमा हाल ५८ बेडसम्मको व्यवस्थापन गरी सेवा दिइँदै आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा। मनोज विश्वकर्माले जानकारी दिए। उनका अनुसार वर्षातसँगै ज्वरोका बिरामी बढेका छन् भने बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमका बिरामीहरू बढी आएका छन्।

डा। विश्वकर्माका अनुसार, “गत वर्षको तुलनामा यस वर्ष गर्भवती र सुत्केरीको संख्या उल्लेख्य रूपमा बढेको छ। बिरामीको चाप अत्यधिक भएपछि बाहिरबाट बेड ल्याएर थप्नुपरेको छ। कतिपय अवस्थामा बेड नपुग्दा कुर्चीमै राखेर उपचार गर्नुपरेको छ।”

अस्पतालको १० शय्याको प्रसूति वार्डमा पनि भीड चर्किएको छ। क्षमताभन्दा बढी सुत्केरी हुँदा अस्पतालले थप बेड राखेर सेवा विस्तार गरेको जनाइएको छ। अस्पतालमा मासिक रूपमा २५ देखि ३० जना महिलाको शल्यक्रिया मार्फत प्रसूति हुने गरेको छ। हाल अस्पतालमा ९ जना चिकित्सक कार्यरत छन्।

अस्पतालमा अनुभवी चिकित्सकहरू कार्यरत भएपछि सुर्खेत र नेपालगञ्ज जाने बिरामीहरू पनि स्थानीय अस्पतालमै उपचार गर्न आउने भएका छन्। मौसमी रोगीहरू बढेपछि अस्पतालमा चाप झनै बढेको छ। निजी मेडिकलहरूले पनि बिरामी चापमा लाभ उठाउँदै महँगो शुल्क लिने गरेको गुनासो आएको छ। यसै कारण हाल निजी मेडिकलमा अनुगमन गर्नुपर्ने आवाज उठ्न थालेको छ।

१८ करोडको भवन अधुरो स्वास्थ्यकर्मीहरूका अनुसार, नयाँ अस्पताल भवन ठेकेदारको लापरबाहीका कारण समयमै निर्माण हुन सकेको छैन। चार वर्षअघि निर्माण सुरु गरिएको ५० शय्याको भवन कर्णाली प्रदेश सरकारले १८ करोड २३ लाख ९९ हजार ३८१ रुपैयाँमा तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता गरेको थियो। तर, ठेकेदार कम्पनीले काम ढिलो गरी अहिले पनि अपूर्ण अवस्थामा छ।

अस्पतालका अनुसार, ठेकेदारले पटक–पटक म्याद थपका लागि पत्र पठाए पनि काममा प्रगति नदेखिएपछि म्याद विस्तारको प्रक्रिया रोकिएको छ। ठेकेदार कम्पनीले भने प्रदेश सरकारले भुक्तानी ढिलो गरेकाले काममा ढिलाइ भएको दाबी गरेको छ।

भवन निर्माण ढिलो हुँदा २०४२ सालमा बनेको पुरानो ओपीडी भवनमै अहिले बिरामीहरूलाई कोचाकोच गरी उपचार गर्नुपरेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="