गुल्मी,९ कार्तिक । गुल्मीको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्याक्टरका सहचालक १९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पुन सडकबाट करिब ५०० मिटर तल खसेका थिए।
प्रहरीका अनुसार उकालो बाटोमा लोड तान्न नसक्दा ट्याक्टर ब्याक भएर दुर्घटना भएको हो।
ट्याक्टर चालक २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट बाँझकटेरीका प्रहरी सहायक निरीक्षक छन्द्रविक्रम आचार्यको नेतृत्वमा टोली खटिएको थियो।
प्रहरीले मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस