after_navbar

सरकारले तत्काल राजदूत नियुक्त नगर्ने


कार्तिक १४, २०८२



काठमाडौ,१३ कार्तिक। सरकारले हाल फिर्ता गरिएका देशहरूमा तत्काल नयाँ राजदूत नियुक्त नगर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम रूपमा गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका हुन्।
उनका अनुसार हालका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासमा कार्यरत दोस्रो तहका कर्मचारीहरूले नै दूतावासका कामकारबाही सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

ad

प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिका र कार्य मूल्याङ्कनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको जानकारी दिए।
त्यस्तै, उनले मन्त्रिपरिषद्ले आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको पनि बताए।

यस्तै, वैदेशिक रोजगार, अदालतका मुद्दा व्यवस्थापन, वैदेशिक अध्ययन अनुमति, अध्यागमन, नागरिकता, सामाजिक सुरक्षा तथा बन्दीको पहिचानलगायत सेवाका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्कमा पहुँच दिन सक्ने गरी क्षेत्र तोक्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए।
बैठकले समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="