after_navbar

लागुऔषध कारोबारमा संलग्न सातजना पक्राउ


कार्तिक १, २०८२


काठमाडौ,१८ कार्तिक । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागू औषधको कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। सोमबार राति सुनसरी, मोरङ, झापा र उदयपुरका विभिन्न स्थानहरूबाट लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानकारी दिए।

ad

सुनसरीको कोशी गाउँपालिका–१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० वर्षीया विष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–१५ स्थित स्थानबाट लागू औषध ट्रामाडोलका २१० क्याप्सुल र नगद १ लाख ३० हजार रुपैयाँसहित बेचबिखनमा संलग्न सोही स्थानका लक्ष्मण परियार, सन्दिप राई र सन्देश गुरुङलाई पक्राउ गरेको एसएसपी पोखरेलले बताए।

मोरङको बेलबारी नगरपालिका–७ बाट प्रहरी चौकी बाहुनीले बेलबारी–६ का जिवन सरदारलाई ट्रामाडोल र डाइक्लोमाइन गरी ५५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ। त्यस्तै, मोरङकै केराबारी गाउँपालिका–८ का १९ वर्षीय आशिष श्रेष्ठलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगरले ३ ग्राम १८ मिलिग्राम ब्राउन सुगरसहित विराटनगर–१५ बाट पक्राउ गरेको जनाएको छ।

झापाको मेचीनगर नगरपालिका–६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले नुवाकोटका २७ वर्षीय रामबहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–७ स्थित स्थानबाट बेवारिसे अवस्थामा १२२ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरेको जनाएको छ।

प्रवक्ता एसएसपी पोखरेलका अनुसार पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="